राजविराज । सप्तरीको छुट्टाछुटै स्थानमा मंगलबार भएको आगलागीबाट २ घरमा क्षति भएको छ । जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करिब २ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करिब ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवकी १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएकी छिन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६