काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । आपूर्तिकर्ता र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको मिलेमतोमा उपकरण खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको पाइएको हो । राजधानी दैनिकमा समाचार छ ।
निर्देशनालय स्रोतका अनुसार अल्ट्रासाउन्ड उपकरण महँगो मूल्यमा खरिद गरिँदा झन्डै ६ करोड रुपैयाँ अतिरिक्त बजेट खर्च भएको छ । उपकरण खरिद गर्दा एउटै सप्लायर्सलाई ठेक्का दिनेगरी स्पेसिफिकेसन बनाएको पाइएको छ । अल्ट्रासाउन्ड मेसिन खरिदका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयले विशेष अनुदानअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ६ करोड रुपैयाँ पर्ने अल्ट्रासाउन्ड मेसिनलाई १२ करोड रुपैयाँमा खरिद गरिएको स्रोतको दाबी छ ।
बोलपत्र आह्वान गर्दा १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पेस गर्नुपर्ने प्रावधान छ । तर, बोलपत्र स्वीकृत गर्दा भ्याट रकम नहालेको फर्मलाई स्वीकृत गरेको पाइएको छ । हाल अल्ट्रासाउन्ड मेसिन सामाजिक विकास मन्त्रालयले पाउन सकेको छैन । निर्देशनालयले भ्याटबापतको रकम थप माग गरेर अनियमितता गर्न खोजेको आरोप लागेको छ । प्रदेशअन्तर्गतका ८८ स्थानीय तहका लागि अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्न उपकरण खरिद गर्दा अनियमितता भएको पाइएको बताइएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतका स्वास्थ्य निर्देशनालयले ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । सो टेन्डर मिलेमतोमा स्वीकृत गरेको पाइएको छ । एउटा अल्ट्रासाउन्ड उपकरण खरिदका लागि एजी हेल्थ केयर काठमाडौंले बिट रकम ७ हजार डलर राखेर प्रस्ताव पेस गरेको थियो । सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका मन्त्रिपरिषद्लाई झुक्याएर १२ करोड रुपैयाँको अल्ट्रासाउन्ड मेसिन खरिदमा भ्याटबापतको रकम पौने २ करोड स्वीकृत गरेको पाइएको छ । उक्त मेसिन गर्भवती महिलाको बच्चाको अवस्था र सालनालको अवस्था पत्ता लगाउनका लागि खरिद गरिएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।
यसैबीच अनियमितताको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशमा उजुरी दर्ता भएको छ । आयोगका सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी टोपबहादुर विष्टले उपकरण खरिदका सन्दर्भमा उजुरी प्राप्त भएको बताए । उनले भने, ‘उजुरी प्राप्त भएको छ । अब अनुसन्धान प्रक्रियालाई अघि बढाउँछौं ।’
स्पेसिफिकेसन बनाउँदा तीन जना विशेषज्ञ रेडियोलोजिस्ट, गाइनोकोलोजिस्ट र बायोमेडिकल इन्जिनियर राख्ने प्रावधान छ । तर, प्रावधानविपरीत स्पेसिफिकेसन तयार गरिएको स्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले उपकरण खरिद प्रक्रियामा कुनै अनियमितता नभएको बताए । उनले भने, ‘कुनै पनि नियम मिचेर उपकरण खरिद प्रक्रिया अघि बढाएका छैनौं । सम्झौताको अवधि अझै सकिएको छैन । कानुनलाई उल्लंघन गरिँदैन । प्रक्रिया संगत रूपमा अघि बढिरहेका छौं । ’
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उपकरण खरिद प्रक्रियामा अनियमितता भएको पाइएमा छानबिनको दायरामा ल्याइने बताए । उनले भने, ‘स्वास्थ्य निर्देशनालयमार्फत खरिद प्रक्रिया अघि बढेको हो । खरिद प्रक्रियामा अनियमितता भएको पाइएमा त्यसलाई छानबिनको दायरामा ल्याइन्छ ।’
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६