काठमाडौं । भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी ३ सय ९५ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ।
सरकारले आफैँले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म ३ सय ७२ वर्गकिलोमिटर क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै आएको थियो ।
४ वर्षअघि सूर्यनाथ उपाध्यायको संयोजकत्वमा बनेको सीमा विवाद सम्बन्धीअध्ययन टोलीले लिम्पियाधुरासम्मको भूभाग नेपालकै भएको निष्कर्ष निकालेको थियो । लिम्पियाधुरा–लिपुलेक–कालापानी गरी भारतले ३ सय ९५ वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । आज अन्नपूर्णमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
उपाध्याय नेतृत्व टोलीले समाधानका विकल्पसहितको सुझाव सरकारलाई त्यतिबेलै दिएको थियो। प्रतिवेदनअनुसार लिम्पियाधुराको ३ सय ३५ र लिपुलेक–कालापानीको ६० गरी ३ सय ९५ वर्गकिलोमिटर क्षेत्र भारतले मिचेको छ । काली नदीको मुहान नै लिम्पियाधुरा भएको प्रतिवेदनको पनि ठहर छ ।
४ महिनाको अध्ययनपछि टोलीले यो प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाए पनि कुनै पनि दलका सरकारले सार्वजनिक गरेनन् । औपचारिक रुपमा यो ‘गोप्य’ नै छ । परराष्ट्र स्रोतअनुसार कालापानीमा भारतले तैनाथ गरेको सेना हटाएर अतिक्रमित क्षेत्र (३९५ वर्गकिलोमिटर) पूर्ण रुपमा खाली गर्नुपर्ने प्रतिवेदनको ठहर छ ।
उक्त अतिक्रमित भूभाग (लिम्पियाधुरा–लिपुलेक–कालापानी) सट्टापट्टा गर्न सकिने विकल्प पनि समितिले सरकारलाई दिएको छ । ३ सय ९५ वर्गकिलोमिटर पूर्वपश्चिममा नै नेपाल–भारत–चीनको त्रिदेशीय विन्दु निधो गर्नुपर्ने र सटपट गरेर लिपुलेकलाई त्रिदेशीय विन्दु निर्धारण गर्न सकिने विकल्प पनि उक्त प्रतिवेदनमा दिइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६