काठमाडाैं । झुठाे तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजस्व छली गर्ने भारतीय नागरिकसहित ३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
‘हस्पी केयर इन्टरनेसनल’ र ‘श्री श्याम ट्रेडर्स त्रिपुरेश्वर काठमाडौँ’मार्फत राजस्व चुहावट गरेको अभियोगमा भारत स्थायी ठेगाना भई हाल काठमाडौँ, बाफल बस्ने केशव बंसल, रामसुन्दर राय र प्रोप्राइटर राकेश पाण्डेयविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरुले ११ करोड १९ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेकाले बिगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैदको माग दाबीसहित मुद्दा चलाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कर छलीका मुख्य अभियुक्त भने बंसल हुन् ।
हस्पी केयर इन्टरनेसनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उनले राजस्व छली गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ ।
अभियुक्त बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले आवश्यक छानबिन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गरिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६