काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहोरको अन्तिम व्यवस्थापन कार्य सुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहोर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा २ किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहोर राख्ने स्थान नहुँदा थुपारिएको फोहोरलाई व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानमा आगामी दिनमा फोहोर नराख्ने गरी र जम्मा गरिएको फोहोरले स्थानीयवासीलाई असर नपर्ने गरी व्यवस्थापनको काम गर्न लागिएको हो ।
बढीमा अबका चार महिनामा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहोर राख्न सकिने गरी काम भइरहेको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहोर थुपार्दै आएको छ ।
२ वर्षका लागि भन्दै लामो समयसम्म फोहोर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
सहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहोर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
गत मंसिर १७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर बिसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६