लण्डन । बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन । उनी हाल बेलायतको लेबर पार्टीबाट काउन्सिलर छन । बेलायती संसद्को प्रमुख प्रतिपक्ष पार्टी लेवर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यबाट संसदीय निर्वाचनको चुनावमा उम्मेदवार हुन आवेदन मागेकोमा डा कैनीले आवेदन दिएका थिए । डा कैनीले आगामी मे ११ मा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउने जानकारी दिए । बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको यो पहिलोपटक हो । उनले आफ्नो निर्वाचनको मुख्य योजना डार्टफोर्ड क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, यातायात र सहरी विकास रहेको बताएका छन । सन् २००५ मा बेलायत प्रवेश गरेका कैनीले सन् २०१३ मा लेवर पार्टीको सक्रिय सदस्य, सन् २०१४ मा महासमिति सदस्य र सन् २०१५ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०७४