दार्चुला । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि देशभर त्यसको विरोध भइरहेको छ। दार्चुलामा पर्ने सामरिक महत्वको उक्त त्रिदेशीय सीमाक्षेत्रमा भएको छिमेकीको हस्तक्षेपविरुद्ध नेपालीमा राष्ट्रिय एकताको भावना प्रदर्शन भइरहेको छ। यसरी देशभर राष्ट्रियता बलियो हुँदै गएको देखिए पनि दार्चुलाको सीमाक्षेत्रमा भने राज्यविहीनताको स्थिति छ। नागरिक दैनिकमा समाचार छ ।
जहाँ राष्ट्रियता खतरामा छ, त्यहीं राज्यको उपस्थिति नहुनु दुर्भाग्यपूर्ण भएको यस क्षेत्रका स्थानीय बताउँछन्। राज्यका कुनै निकायबिना पनि सीमामा आइपर्ने अनेकौं समस्याको सामना गर्दै आफूहरूले राष्ट्रियता जोगाउँदै आएको व्याँस गाउँपालिका–१ का स्थानीय बताउँछन्।
राजनीतिक रूपमा राज्य हुन चार आधारभूत तत्व भूगोल, जनसंख्या, सरकार र सम्प्रभुता आवश्यक पर्छ तर दार्चुलाको व्याँस क्षेत्रको हकमा परिस्थिति फरक छ। यहाँ भूगोल र जनसंख्या भए पनि सरकार र सम्प्रभुतामा भने प्रश्नचिह्न छ। व्याँस–१ मा सरकारको उपस्थिति नभएकैले सम्प्रभुतामा समेत खलल पुगेको त्यहाँका स्थानीयको बुझाइ छ। व्याँस क्षेत्रमा आदिवासी जनजाति सौका समुदायको ग्रीष्मकालीन बसोबास हुन्छ। यहाँका स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना व्याँसको छांगरु र तिंकरमा बसोबास गर्छन्।
नेपालतिर छैन बाटो, भारतीय प्रवेशपास लिन बाध्य
व्याँस क्षेत्रमा न त सुरक्षा निकायको उपस्थिति छ न अन्य सरकारी संयन्त्रको। स्थानीयलाई आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने बाटोसमेत त्यहाँ छैन। वैशाखमा व्याँस उक्लिएका सौकाहरू कात्तिक अन्तिम सातादेखि सदरमुकाम खलंगास्थित कुन्चामा बस्न थाल्छन्।‘देशको सीमामा पिलर भएर बसेका हामीलाई आफ्नै भूमि भएर आउजाउ गर्नसमेत बाटो छैन,’ स्थानीय सन्तोष ऐतवालले भने, ‘पञ्चायतकालमा नेपालतिर घोडेटो बाटो निर्माण भएको थियो, अहिले त्यो छैन। त्यसैले छांगरु पुग्न पनि भारतीय प्रशासनसँग पास लिनुपर्छ।’
उनका अनुसार कालापानी प्रवेशका लागि नेपाली नागरिकले पास नै पाउँदैनन्। नेपालीका लागि निषेधित क्षेत्र बनेको छ त्यो क्षेत्र। कालापानीमा भारतीय सेना र सीमा सुरक्षा बल स्थायी रूपमा राखिएको छ। खलंगाबाट छांगरु पुग्न भारतीय बाटो हुँदै आधा दूरी गाडीमा र आधा दूरी पैदल गरी पुग्न एक दिनको यात्रा गर्नुपर्छ। भारततिर जाँदा बहुयात्रा अनुमतिपत्र आवश्यक पर्छ। ठाउँठाउँमा भारतीय सुरक्षाकर्मीको चेकजाँच हुन्छ। कुञ्चा सर्ने बेला पशुचौपायाका साथमा आउँदा झनै समस्या हुने गरेको भन्दै ऐतवाल दुखेसो पोख्छन्। ‘आफ्नै भूमि जान भारतीय एसडिएम कार्यालयले सही गरेको पास चाहिन्छ,’ उनले भन्छन्, ‘योभन्दा पीडादायी हामीलाई अरू के होला ?’
पशुचौपाया ल्याउन–लान पनि भारतीय अनुमतिपत्र बनाउनुपर्ने व्यवस्थाले कठिनाइ भोग्नुपरेको गुनासो स्थानीय गर्छन्। ‘हामी देशको सीमा सुरक्षा गर्न तयार छौं,’ ती स्थानीयको सरकारसँग अनुरोध छ, ‘आफ्नै देशको भूमि भएर पहिले बाटो निर्माण गरिदिनुहोस्।’ उनीहरू थप्छन्, ‘एकातिर आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने र अन्य सानातिना कुरामा समेत भारतकै भर पर्न बाध्यता हुँदा अनि अर्कोतिर राज्यविहीनताको अवस्था आइपर्दा कसरी राष्ट्रियताको रक्षा होला ?’
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६