काठमाडौं । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज काठमाडौँमा सुरु हुँदै छ । ३ दिन चल्ने सम्मेलनमा ३० मुलुकका ६२ भन्दा बढी प्रतिनिधि सहभागी हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्याण्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ। सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन् ।
सम्मेलनमा विभिन्न ५ विषयमा विज्ञसहित छलफल हुने छ। आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’, ‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवद्र्धन र संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुने छ ।
नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सहजीकरण गर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६