भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएकी छिन् ।
२ बिघा क्षेत्रमा लगाइएको धानमध्ये १० कठ्ठा जमिनमा भएको रञ्जित धानमा फड्के कीरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनले बताइन् । अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ , गजुरेलले भनिन्, कृषि प्राविधिकलाई सोध्दा कीरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ ।
उनले वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के कीराले सखाप पारेको बताइन् । सोही कारण मेचीनगर–४ बाहुनडाँगी क्षेत्रका किसानले समेत धान खेतमा आगो लगाएका छन् ।
बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ र ३ का किसानको करिब १२ बिघा जमिनमा लगाएको धान खेतमा आगो लगाइएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए । उनले फड्के कीराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएको बताए ।
उनका अनुसार क्षति हुने किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य गाउँपालिकाले गरिरहेको छ । उनीहरुलाई गाउँपालिकाले नै क्षतिपूर्ति भराउन नसके पनि प्रदेश सरकारसँग राहतका लागि पहल गर्ने उनको भनाइ छ ।
गौरीगन्ज गाउँपालिका–३ ठेकीटोलका किसानले लगाएको २० बिघामा यो रोगको प्रकोप देखिएको छ । सुरुमा धानको फेदमा कालो देखिने र क्रमशः बोट नै मर्ने गरेको स्थानीय किसान महेन्द्र रिजालले बताए । पाकेको धान भित्र्याउन पाइएन , उनले भने, वर्षभरि के खाने भन्ने चिन्तासँगै परालसमेत काम नलाग्दा गाईवस्तुलाई के खुवाउने भन्ने पीर बढ्यो । भुसुना जस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाएको अर्का किसान नगेन्द्रप्रसाद गड्तौलाले बताए ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी तथा प्राविधिक शेषराज पौडेलले मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ति र गौरीगन्जमा विशेषगरी फड्के कीराको प्रकोप देखिएको बताए । उनका अनुसार जिल्लाभरमा करिब सय बिघा जमिनमा यो कीराको प्रकोप देखिएको छ । समयमै किसानले थाहा नपाएको र औषधि गर्न नसक्दा यो रोगका कारण यति धेरै क्षति भएको उनको भनाइ छ ।
ज्ञान केन्द्रले क्षति पुगेको स्थानका किसानको तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहलाई अनुरोध गरेको बताउँदै उनले भने, तथ्याङ्क आइसकेपछि राहतका लागि प्रदेश र केन्द सरकारसँग पहल गर्छौं ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६