काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन् ।
मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनसन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।
मन्त्री पोखरेलले भने, अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनसन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।
कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।
कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएका छन् ।
मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुङ्गो लागिसकेको जानकारी दिए । उनले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।
विद्यार्थीकाे रकम फिर्ता नगरे मेडिकल कलेजलाई ठगी मुद्दा
यसैगरी, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे ठगीको मुद्दा चलाउने चेतावनी दिएका छन् । मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले नमिलाएमा विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जाने प्रष्ट गरे ।
१५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी गरेको छ । तालाचाबी बुझाइदिने धम्की दिँदैमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने भन्दै मन्त्री पोखरेलले कानून सबैका लागि लागू हुने प्रष्ट गरे ।
विद्यार्थीका माग सम्बोधन गरेपछि भने शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि उनले बताए ।अभिभावक र विद्यार्थीलाई गुपचुप रुपमा असमान शर्तहरु नस्वीकार्न उनको आग्रह छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६