काठमाडाैं । सत्तारुढ नेकपाले भारतसँगको सीमा समस्यालाई पार्टी सचिवालय बैठकको एजेन्डा बनाउने तयारी गरेको छ । सचिवालय बैठकको तयारीका लागि आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरे ।
दुई नेताले पार्टीको एकता प्रक्रियाका बाँकी काम टुंग्याउन पनि गृहकार्य गरेको पार्टी स्रोतले बताएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान ९ बजे डाकिएको केन्द्रीय सचिवालय बैठकमा समसामायिक राजनीतिक परिस्थिति र एकताका बाँकी कामबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी गराए । नयाँ पत्रिकामा समाचार छ ।
लिपुलेक र कालापानी आफ्नो भूभागमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकको निष्कर्ष र सुझावका आधारमा भारतसँग समस्या समाधानका लागि संवाद गर्नेबारे नेकपा सचिवालयले छलफल गर्ने स्रोतले जनाएको छ । आइतबार ओली र प्रचण्डबीच छलफल हुँदा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
नेकपामा केन्द्रीय निकायहरू–अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ । दुई अध्यक्षबीच ती सबै निकायका काम टुंग्याउनका लागि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ । २२ कात्तिकमा पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले २५ गतेभित्रै एकताको बाँकी काम टुंग्याइने दाबी गरेका थिए ।
दुई अध्यक्षको कार्यशैलीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग भने ओली र प्रचण्डले बैठकबारे बेग्लै छलफल गरेका छैनन् । महासचिव पौडेलले छिट्टै पार्टी स्थायी समितिको बैठक नै बोलाउने तयारी भइरहेको बताए । ‘हामी छिट्टै स्थायी समिति बैठक बोलाउने तयारीमा छौँ, बैठक बस्न धेरै ढिलो भइसकेको छ’, पौडेलले भने, ‘मिति तय भइसकेको छैन, तर अध्यक्षद्वयसँगको परामर्शमा तोकिनेछ ।’
नेकपाले १७ र १८ कात्तिकमा स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको थियो, तर अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । नेकपाको स्थायी समिति बैठक अघिल्लो वर्षको २९ मंसिरयता बस्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६