काठमाडौं । प्रहरी हिरासतमा रहेका भूतपूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारिक घराना ज्याेति ग्रुपका उपाध्यक्ष रुपज्योति र उनी छोरी सुरुचीलाई काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
ज्याेति विरुद्ध १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले जाहेरी दिएका थिए । साेही जाेहरीका आधारमा प्रहरीले उनलाई सिंगापुरबाट आउने क्रममा विमानस्थलबाटै पक्राउ गरेकाे थियाे ।
रूपज्याेतिले अदालतमा न्यायाधीससामु गरेकाे बहसकाे केही अंशः
विगेन्द्रकृष्ण मल्लले २०७५ साल मंसिर १६ गते म र मेरो परिवारविरुद्ध १ करोड २६ लाख ठगेको जाहेरी दर्ता गरेका थिए । त्यो जाहेरी दर्ता हुनुअगावै शम्भु फुँयालमार्फत १ करोड २६ लाख रुपैयाँ जम्मा गरेको छु । उजुर गर्नुभन्दा अगावै अदालतमा पैसा जम्मा भइसक्दा पनि पैसा नलिई मुद्दा हाल्नु र त्यसकै आधारमा हिरासतमा राख्नुले फसाउने नियत देखिन्छ ।
मलाई जुन ठगीको आरोप लगाइएको छ, ठगी भएकै छैन । जुन कम्पनी भनिएको छ, म त्यसको सञ्चालक पनि होइन ।
मेरी छोरीलाई पनि पक्राउ गरिएको छ । मेरो अन्य परिवारका सदस्यहरु साैरभ ज्योतिहरुलाई पनि जाहेरी दिइएको छ । मेरो एउटा बहिनी, जो कहिल्यै घरबाट निस्किएकी पनि छैनन्, उनको नाममा पनि जाहेरी छ । जाहेरी दिने मान्छेले नै उसलाई चिनेको छैन । यो केको आधारमा उजुरी गरियो ?
मेरी छोरी अमेरिकामा बसेकी थिइन् । मैले नेपालमा नै केही गर्नुपर्छ भनेर बोलाएँ । अहिले उनलाई पनि पक्राउ गरियो । म सिंगापुरमा छँदा नै ‘तँ पक्राउ पर्छस्’ भनेका थिए । मैले न्यायालयबाट न्याय पाउँछु भनेर आएँ । मैले किन पक्राउ गरियो भन्दा उहाँहरु (प्रहरी) ले ‘उजुरी परेपछि पक्राउ गर्नैपर्छ सर’ भन्नुभयो । सरकार नै मलाई फसाउन लागेको छ । म र मेरो परिवारको बदनाम गराउन लागिएको छ ।
मलाई फौजदारी अपराधजस्तो गरेर हिरासतमा राखियो । ३ दिनको म्याद थपियो । मैले अस्ति धेरैपटक न्यायाधीशलाई प्रश्न गरेँ, तर जवाफ आएन । मैले अदालतमा पैसा जम्मा गरेको छु । अदालतले ‘तेरो पैसा किन लिने, कोर्ट फी पनि तिर’ भनेपछि त्यसको १ प्रतिशतले हुन आउने रकम समेत मैले अदालतलाई तिरेको छु । प्रमाणहरु छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६