काठमाडौं । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा नयाँ कार्यकारी निर्देशकको जिम्मेवारीसँगै उपलब्धिमूलक काम सम्पन्न भएका छन् ।
करिब ६ महिनासम्म अन्यौलको अवस्थाबाट गुज्रिरहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा कार्यकारी निर्देशकको रूपमा लीलाप्रसाद ढकालले २०७५ पुसदेखि गत असोजसम्म जिम्मेवारी सम्हाल्दा २ सय ५० वटा खानेपानी आयोजना सम्पन्न भएको हो । समितिले विश्व बैंकको सहयोगमा देशका ५५ जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना सञ्चालन गर्दै आएको छ ।
निर्माण थालनी भए पनि विभिन्न बहानामा वर्षाैँ अड्किएका आयोजना सम्पन्न गर्न उनले भूमिका खेलेको बताए । भने, ‘म निर्देशकको रूपमा आउँदा ५ सय ३७ चालु योजनामध्ये ३ सय जति योजनाको काम अगाडि बढे पनि अलपत्र अवस्थामा थियो । बाँकी तराईको १ सय १७ ओभरहेड ट्यांकवाला योजना पनि बोरिङको कामबाहेक अरु बाँकी नै थिए । त्यसपछि ९ महिनामा २ सय ५० वटा योजना सम्पन्न गरियो ।’
ढकालका अनुसार सम्पन्न योजनाबाट डेढ लाख जनताले उपभोग गर्न पाएका छन् भने अहिले उनले जिम्मेवारी छाडे पनि तराईका १ सय ९ योजनाको काम धमाधम भइरहेको छ । अहिले भइरहेको काम पनि असार मसान्तसम्ममा सक्ने गरी भइरहेको बताइएको छ ।
निर्देशको रूपमा जिम्मेवारी सम्हालेपछि टाइमलाइन निर्धारण गरेर काम सुरु गर्दा सोचेभन्दा पनि छिटो काम सम्पन्न भएको उनले बताए । ‘टाइमलाइनमा यति काम गर्न सक्नुभएन भने त्यसको प्रभाव राम्रो हुँदैन भनेर आग्रह गरें । त्यसअनुसार काम भयो’, उनले भने, ‘यसमा सम्बद्ध जोडिएको संस्था भनेको गैह्रसरकारी संस्था हो । सहजीकरण गर्ने, उपभोक्ता समितिलाई परिचालन गर्ने र सुसूचित गर्ने सबै उहाँहरुकै काम हो ।’
समयमा काम सम्पन्न गर्नका लागि समस्या के छ भनेर सुरुमै समस्याको पहिचान गरिएको उनले बताए । त्यसपछि टाइमलाइनमा सम्झौता बमोजिम काम गर्न सकेन भने कर्मचारीले पनि जागिरबाट निस्कनुपर्ने बाचा गरेको हुँदा कर्मचारी गम्भीर भएका लागेको उनको भनाइ छ ।
अहिले पनि कर्मचारीका कारणले समयमा काम सम्पन्न नभए कर्मचारीले जागिर पनि छोड्नुपर्ने अवस्था छ भने अर्कातिर उपभोक्ता समिति र गैह्रसरकारी संस्थाले पनि काम गर्न बाध्य बनाइदिएको हुँदा समयमै काम सम्पन्न हुनेमा विश्वस्त रहेको ढकालले बताए ।
हाल उनी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा सरुवा भएका छन् भने नयाँ कार्यकारी निर्देशकको जिम्मेवारीमा चोकप्रसाद धिताल आएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६