काठमाडौँ । देश लामो समयदेखि राजनीतिक अस्थिरताको चपेटामा रुमल्लियो । विकास निर्माणका काम ठप्प भए । सायद हाम्रो बानी नै परिसकेको छ– कामचलाउ विकास देख्ने र त्यस्तैमा रमाउने । कसैले त्योभन्दा बढी केही महत्वपूर्ण कार्यक्रम अघि सारे पहिले त हामी पत्याउँदैनौ । पत्याइहाले त्यसलाई सुरुमै नकारात्मक विषय उठान गरी कार्यक्रम नै मार्नतर्फ अग्रसर हुन्छौँ । कसैले गहकिलो विकास, चामत्कारिक योजना अघि सारे हामी त्यो सबै हावा हो भनेर समान्यीकरण गर्ने गर्छौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा पाइपबाट ग्यास, पेट्रोल आपूर्तिको विषय उठान गर्दा त्यसलाई मजाकको विषय बनायौँ । अनि उनै केपी ओलीले मुलुक अब रेलको युगमा प्रवेश गर्ने बताउँदा कागजको रेल बनाउँदै असम्भव भन्दै उडाइरह्यौँ । तर आज पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत भारतबाट नेपाल आउने सम्पूर्ण तयारी भइसकेको छ । र रेलको विषय पनि अब निकै अगाडि बढिसकेको छ ।
गएको महिना त्यस्तै एउटा अपत्यारिलो तर वास्तविक विकासको नयाँ विषय नेपाली जनताले सुन्न पाए । पहाडै पहाडले बनेको हाम्रो देशका लागि त्यो समाचार साँच्चिकै उत्साह जगाउने खालको मात्रै थिएन, उत्सव नै मनाउन लायक थियो । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको पहलकदमीमा सोही मन्त्रालयले काठमाडौँको नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउने घोषणा ग¥यो । र, प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका बीच उद्घाटन पनि गरे ।
एउटा सुरुङ मार्गको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले मुलुक अब सुरुङ मार्गमा प्रवेश गरेको उद्घोष गरे । पहिलो पटक बन्न लागेको एउटा मात्रै सुरुङ मार्गको उद्घाटनकै बेला यति धेरै घोषणालाई पत्याउन नसकिरहेका जनताका लागि हालैको एक दिन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले त्यो मात्रै होइन, अब देशभित्र एकै पटक करिब दर्जन स्थानमा सुरुङ मार्ग बनाउने तयारी सरकारले गरिरहेको घोषणा गरेर आमजनतालाई नयाँ सन्देश दिन खोजे ।
आजको न्युजसँग कुरा गर्दै मन्त्री महासेठले नागढुंगा–नौबिसे सुरुङ मार्ग ढिलोमा पनि ४२ महिनामा बनिसक्ने सार्वजनिक गर्नुका साथै देशभर ठाउँठाउँमा सुरुङ मार्गको तयारी भइरहेको समेत खुलासा गरे ।
मन्त्री महासेठका अनुसार नागढुंगा–नौबिसे सुरुङ मार्गको समयतालिका ४२ महिना भए पनि ३६ महिनामै त्यो बनिसक्ने निर्माण कम्पनीले विश्वास दिलाएको छ । यति मात्रै होइन, अब मुलुक प्रधानमन्त्रीले घोषणा गरेजस्तै सुरुङ युगमा प्रवेश गरेको छ । देशभरको यातायातलाई व्यवस्थित गर्न अघि सारिएको यो महत्वकांक्षी योजनाले साँच्चिकै विकास निर्माणका क्षेत्रमा चामत्कारिक फड्को मार्ने छ ।
कुनै पनि महत्वपूर्ण विषय आरम्भ गर्न कठिन भए पनि आरम्भ भइसकेपछि अघि बढ्न समय नलाग्ने मन्त्री महासेठले आजको न्युजसँगको कुराकानीमा बताए । मन्त्री महासेठका अनुसार सरकारले नागढुंगा–नौबिसे सुरुङमार्गको उद्घाटनसँगै सिद्धबाबा, लामबगर र खुर्कोटमा पहिलो प्राथमिकताका साथ सुरुङ मार्ग निर्माणको तयारी तीव्ररूपमा अघि बढिरहेको छ ।
सिद्धबाबा र लामबगरमा खरिद प्रक्रियामै अघि बढिसकेको छ भने खुर्कोटमा पनि प्राथमिकता साथ तयारी भइरहेको छ । त्यस्तै हेटौँडा जाने बाटो र कर्णालीका कैयौँ ठाउँमा सुरुङ मार्ग निर्माणको तयारी तीव्ररूपमा भइरहेको छ । सरकारले देशभरको सडक यातायातलाई व्यवस्थित बनाउन पहिलो चरणमा ७ देखि ९ स्थानमा सुरुङ मार्ग निर्माण गर्ने छ भने त्यसको सफलतासँगै देशभर सुरुङ मार्गको निर्माण अघि बढ्ने छ ।
सुरुङ मार्गको निर्माणले नेपाल सडक यातायातमा नयाँ युगमा प्रवेश गर्ने छ भने अहिलेको अव्यवस्था पनि समाप्त हुँदै जाने छ । सुरुङ मार्गको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने यसको उपयोगिता हाम्रो जस्तै पहाड र हिमाली क्षेत्रका लागि हो । केही स्थानमा सुरुङ मार्गको सफलताले हाम्रो देशको सडक यातायातलाई चामत्कारिक ढंगले परिवर्तन गर्ने सरकारको विश्वास छ ।
मन्त्री महासेठका अनुसार पहिलो चरणका सुरुङ मार्गहरु सरासरी काम भए यही सरकारको पालामा भइसक्ने छन् र चुनावताका घोषणा गरे जस्तै यही पाँच वर्षमा मुलुकको विकासले नयाँ फड्को मारिसक्ने छ ।
देशभरको सडक यातायात व्यवस्थित गर्न तीव्ररूपमा सुरुङ मार्गको निर्माणमा तल्लीन रहेको महत्वाकांक्षी योजना सुनाइरहेका मन्त्री महासेठले राजधानी काठमाडौँलाई केही वर्षभित्रै व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजनासमेत सुनाए । घन्टौँको जाम र अव्यवस्थाले आजित भएका काठमाडौँबासीलाई मन्त्री महासेठका योजनाले साँच्चिकै उत्साहित बनाउने छ ।
आजको अव्यवस्थित काठमाडौँलाई भोगिरहेका काठमाडौँबासीका लागि मन्त्री महासेठका योजना विश्वास गर्न मुस्किल परे पनि सम्पूर्ण जनताले साथ दिए आगामी १८ महिनाभित्र आफ्ना योजनाले सार्थक परिणाम दिने उनले ढुक्कसाथ बताए ।
राजधानी काठमाडौँलाई व्यवस्थित बनाउन सरकारले विभिन्न ७ ठाउँमा अन्डरपाससहितका आधुनिक फ्लाईओभर ब्रिज बनाउने घोषणा गरेको छ । जसअनुसार राजधानीका कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, गौशाला र चाबहिलमा पहिलो चरणमा अन्डरपाससहितका आधुनिक फ्लाईओभर निर्माणको अन्तिम तयारी भइरहेको छ । त्यस योजनाको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । सहमति आएलगत्तै खरिद प्रक्रिया अघि बढ्ने छ भने सरासर काम भए आउने १८ महिनाभित्र ती सबै योजना निर्माण भइसक्ने छन् ।
मन्त्री महासेठले अघि सारेको योजनाले मूर्तरूप लिए राजधानीले आगामी २५ वर्षसम्म जाम झेल्नुपर्ने छैन । यसको मतलब माथि उल्लेख गरिएका ७ ठाउँमा अन्डरपास बनाएर मात्रै सरकार चुप लाग्ने छैन । ती योजना सफल भए त्यसपछि राजधानी व्यवस्थित हुने र आगामी दिनमा निर्माण प्रक्रिया थपिँदै जाने भएकाले त्यसउपरान्त राजधानीले ट्राफिक जामको समस्या खेप्नुपर्ने छैन । अर्थमन्त्रालयको सहमतिलगत्तै भौतिक पूर्वाधार मन्त्रालयले फ्लाईओभर निर्माण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने छ ।
७ स्थानमा अन्डरपाससहितका फ्लाई ओभर निर्माणको महत्वाकांक्षी योजना अघि सारेको मन्त्रालयले तत्कालीन रूपमा काठमाडौँ व्यवस्थित गर्न पनि विभिन्न योजना अघि बढाएको छ । त्यसअघि कोटेश्वरको ट्राफिक समस्या समाधान गर्नका लागि नयाँ लेन प्रयोग गर्ने, ललितपुर तिरका गाडीहरु डाइभर्ट गर्ने योजना छ । त्यसो गर्नका लागि बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा छ भने २० प्रतिशत जाम त कोटेश्वरमा प्रयोग गरिने नयाँ लेनले नै कम गर्ने मन्त्री महासेठको योजना छ ।
त्यति मात्रै नभई अहिलेकै अवस्थामा पनि काठमाडौँको ट्राफिक व्यवस्थित गर्न मातहतका निकायलाई मन्त्री महासेठले माघसम्मको अल्टिमेटम दिएका छन् । उनले आफू मातहतका निकायलाई माघसम्म काठमाडौँ व्यवस्थित गर्न नसके कर्मचारीलाई पनि बाटो खाली गरिदिन निर्देशन दिएको र आफू पनि मन्त्री मात्रै भएर बसि नरहने दृढताका साथ सुनाए ।
उनका अनुसार सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न राजनीतिक नेतृत्वले मात्रै सोचेर नहुने त्यो सोचलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र पनि दिलोज्यान दिएर लाग्नुपर्ने छ । भिजिट नेपाल २०२० आउँदै छ । त्यो महाकुम्भ आरम्भ हुनुअघि नै आजको अवस्थाको काठमाडौँ पनि पूर्णरूपमा व्यवस्थित भइसक्ने महासेठको दाबी छ ।
मर्मत सम्भार गर्नुपर्ने ठाउँमा मर्मत सम्भार गर्ने, नयाँ बनाउने ठाउँमा नयाँ बनाउने र जे जे गर्नुपर्छ त्यो गरेर मंसिरभित्र काठमाडौँ व्यवस्थित गरिसक्ने मन्त्री महासेठले दाबी गरे । महासेठका योजनाले साँच्चिकै सडक यातायातको क्षेत्रमा मुलुकले काचुली फेर्ने छ । तर जसरी राजनीतिक नेतृत्वका रूपमा मन्त्रीले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्, सोही गतिमा कर्मचारीतन्त्रले कार्यान्वयनको कदम चाल्नुपर्ने छ भने जनताले पनि सकारात्मक परिवर्तनका लागि मनैदेखि साथ दिनुपर्ने छ । मन्त्री महासेठले भनेझैँ यति भए मुलुक फेरिन समय नै लाग्ने छैन । किन कि गर्ने हो भने असम्भव केही छैन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६