काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
‘शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको छ’, स्रोतले भन्यो, ‘आवश्यक परे फेरि नियुक्त गर्न सक्ने, तर तत्कालका लागि राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन निर्देशन दिनुभएको छ।’ अन्नपूर्ण पाेस्टमा समाचार छ ।
ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेका छन्। नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘केही दिनमा सबै कुरा थाहा हुन्छ।’
निर्देशन सुनेका एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको बताए। ‘प्रधानमन्त्रीले नयाँ जोश र जागरका साथ अगाडि बढ्न खोज्नु भएको छ’, स्रोतले भन्यो, ‘त्यसै सन्दर्भमा उहाँको सजिलोका लागि सबैले राजीनामा गर्ने कुरा भएको छ।’
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् । ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६