काठमाडौं: नरैनापुर गाउँपालिका–२ रोशनपूर्वा गाउँका मोहम्मद जमाल सेखको दसगजासँगै जोडिएर वारि (नेपाल) र पारि (भारत) दुवैतिर घर छ।
दसगजा क्षेत्रमा भैंसी बस्ने आहालजस्तो ठाउँठाउँमा पानी जमेको छ। वारिपारि दुवैतिरका घरको चापाकलको पानी यहीं जम्छ। सेखले आफ्नो घरको पानी दसगजामा नआउने बताए। उनले भने, ‘यी हेर्नुस्, वारि र पारि दुवैतिर मेरो घर छ। मेरो घरबाट पानी त दसगजामा आएको छैन।’
एउटै व्यक्तिको घर सीमा वारिपारि कसरी ? उनले भने, ‘कसैको जमिन नेपालमा छ, घर भारतमा छ। कसैको घर नेपालमा छ, जमिन भारतमा छ।’ सेखको भनाइमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद साहले पनि सहमति जनाए। उनले भने, ‘अहिले निकै कम मानिसको मात्र दुवैतिर घरजग्गा छ। स्थायी बसोबास नेपालमै छ। जग्गा भारतमा पनि छ।’
नरैनापुर गाउँपालिकाबाट बस्ती पुग्न नेपालबाट बाटो छैन। भारतीय बाटोबाटै जानुपर्छ। गाउँ नेपाली बस्तीजस्तै लाग्दैन। बस्तीका ‘दुई देशका साझा नागरिक’ ले सीमा अतिक्रमण भएको कसैले पनि थाहा नपाएको बताए।
गाउँमा दसगजासँगै जोडिएका नेपालीका ५० घर छन् भने भारततिर त्यो भन्दा बढी घर छन्। गाउँभरि नेपालतिर तीन सय ३६ र भारतमा एक हजार बढी मतदाता छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६