काठमाडौं : नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडीपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालिम प्रदान गरेको हो । बंगलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले बताए ।
तत्कालीन समयमा एक व्यक्तिलाई करिब १२ लाख रुपैयाँ लगानी गरेर युएनडिपीले बंगलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालिमप्राप्त गोताखोरबाट उद्धारकार्य हुँदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालिम सञ्चालन गरिएको उनले बताए । यो तालिम निकै खर्चिलो र जोखिमपूर्ण छ, नौ वर्षपछि बल्ल हामीले यो तालिम सञ्चालन गर्न सफल भएका छौं । उनले भने । हाल सप्तकोशी र फेवातालमा गोताखोर तालिम दिइएको हो । नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।
यस्ता संवेदनशील विषयप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराईले बताए । “ यो तालिम खर्चिलो पनि छ, यसका उपकरण निकै महँँगा हुन्छन् । उत्तिकै जोखिमपूर्ण पनि हुन्छन्, दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।” नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जबान दीर्घनारायण पौडेलले तालिम प्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताए ।
“सुरुमा त निकै गाह्रो र डर लाग्यो तालिम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो, अहिले ढुक्कसँग गर्न सक्छु”, अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भने, “अब ६५ फिट तल पनि अक्सिजन सेटअप बक्सका साथ उद्धारामा जान सक्छु ।” थोरै संख्यामा तालिम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालिम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उनको भनाइ छ ।
सातै प्रदेशमा तालिम प्राप्त गोताखोर राख्ने सरकारी योजना अनुरुप तालिम प्रदान गरिएको बताइएको छ । फेवातालमा तालिम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ । हाल चितवनको कुरिनटार तालिम केन्द्र, काठमाडौँ र पोखरामा १५ जना तालिम प्राप्त गोताखोर कार्यरत छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६