भारतको नयाँदिल्लीमा यही अक्टुबर १८–२० मा दक्षिण एसियाको आधिकारिक साहित्यिक संस्था ‘फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिट्रेचरर्स’ को आयोजनामा दक्षिण एसियाली साहित्य महोत्सव सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका चर्चित लेखक कवि साहित्यकारहरूले भाग लिएको उक्त साहित्य सम्मेलनको इन्डिया इन्टरनेसनल सेन्टरको सिडी देशमुख अडिटोरियममा भव्यतासाथ उद्घाटन गरिएको थियो ।
साहित्य एकेडेमी, भारतका अध्यक्ष प्राध्यापक तथा साहित्यकार चन्द्रशेखर कम्बाराले उक्त साहित्य महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव फाउन्डेसनकी अध्यक्ष प्रसिद्ध साहित्यकार श्रीमती अजित कौरको अध्यक्षतामा सम्पन्न भएको थियो । ३ दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको उक्त कार्यक्रममा ३२ सेसनका भिन्नभिन्न कार्यक्रम भएको थियो ।
कार्यक्रममा कवि तथा लेखक रुपसिंह भण्डारीले ‘साहित्य : स्वयंदेखि विश्वशान्तिसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालका कवि एवं निबन्धकार भीष्म उप्रेतीलाई ‘सार्क लिट्रेचर अवार्ड’ प्रदान गरेको छ । उक्त कार्यक्रमको कविता सेसनमा वाचन भएका सातै देशका केही प्रतिनिधि कविताहरू लेखक रुपसिंह भण्डारीले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन् ।
पढौं ८ कविताः
झ्याल
कवि : प्रा. डा. नाजिफ मनालाइ (अफगानिस्तान)
यदि त्यहाँ धुलो कुहिरो हुन्थेन भने
म कसरी झ्यालको सिसामा तिम्रो नाम लेख्न सक्थेँ ?
त्यो धुलो जसले प्रकाशलाई मेरो घरमा आउन रोकेको छ,
त्यसैले त
तिम्रो नाम मेरो औँलाले सिसामा लेख्न सहयोग गरेको छ
र तिम्रो नाम लेखेर
तिम्रो नामबाट प्रकाशलाई छिर्न दिएको छु
मेरो घर भित्र
दुई पूर्ण चन्द्रहरू
कवि : विनिता अग्रवाल (भारत)
म आकाशलाई विश्वास गर्दिनँ ।
ती दुई पूर्ण चन्द्रहरूको
अर्काडियन बजाइ
भाग्यका कमजोर हाँगाहरू
नुनिलो समयमा भिजिरहेछन्
निरस यात्राहरू
ऋतुहरूका भिजेका मखमली हातहरू
दु :खका पहेँला पातहरू
प्रेमका क्रुरता
धुमिल गन्तव्यका
चमेली फुलमा तन्किएर मरिरहेका ताराहरू
म विश्वास गर्दिनँ यिनीहरूको निष्पक्षता
यौटा पूर्ण चन्द्रदेखि अर्कोसम्मको ।
तीर्थयात्रा
कवि : छाडोर वाङमो (भुटान)
आँखा जगमगाइरहेछन,
हृदय फरफराइरहेछ
मेरा काँपिरहेका हातहरूले
तातो कफीको कप समातिरहेछन ।
म मेरो प्रेमकथा लेख्न बसेको छु ।
उसले कसम खाएको थियो
उ आउने छ र हामीसँगै पिउने छौँ यो कफी
यौटा सूर्य र अर्को सूर्यास्तसम्म
नछोइएको कफी चिसिँदै गइरहेछ
एक कपपछि अर्को हुँदै
मेरो यो तड्पाइले मेरो झिनो आशा बेर्दै जान्छ ।
एक कपपछि अर्को !
कफी बनाउने भान्सासम्मको यात्रा
यो तीर्थयात्रा हो ।
जुन तिमिले कसम खाएका थियौ मसँगै पिउने
महान् गुरुहरू भन्छन्
तीर्थयात्रा,
यात्रा नै बढी हो
गन्तव्यभन्दा ।
सायद
मैले लेखिरहेको छु तिम्रा सपना र सम्झना बाहिर निकाल्दै
कफीको अर्कोतिर बसेर
जुन मैले बोकिरहेको छु ।
सायद
मेरो यो लेखाइ
यो तड्पाइ
यो पर्खाइ
यो प्रेम
तिम्रो हृदयसम्म पुग्ने मैले नै रोजेको तीर्थयात्रा हो ।
कसले बोल्छ होला ?
कवि : प्रा. कमरुल हसन (बंगलादेश)
उसका निम्ति धेरै अविवाहित युवतीहरूले
अँगालोमा कोमल तरंग महसुस गरेका थिए ।
ममतामयी आमाले धेरै पटक निद्राविहीन रातहरूको
रुमालले आँखा पुछेकी थिइन् ।
धेरै मानिसले उसको छाती छेड्न चाहन्थे
गोली हानेर बधशालामा ।
कोही मानिस चाहिँ उसलाई आफ्नो परिवारकहाँ
लिन चाहन्थे जुनको उज्यालोले भिजाएर ।
कोही अरु मानिस चाहिँ कुनै तलाउमा मिल्काउन चाहन्थे
खोटो पैसा झैँ ।
कसैले चाहिँ, आफ्नै अधीनमा संग्रहणीय चिजको रुपमा राख्न चाहन्थे ।
तर उसले कसैसँग आत्मीयता बढाएन
चरा र फूलहरू बाहेक
आकाश र नदीहरू बाहेक कसैले उसको गहिरो वार्तालाप सुनेन
रुखका पातहरूले स्व :स्फूर्त छाती खोले उसका दु :खहरू सञ्चित गर्न
बादलहरूले आफ्ना चमत्कारपूर्ण कोमल दराजहरू खोले ।
उसले रुखहरूका कानमा आफ्ना कविता रेकर्ड गराएको छ ।
कमरुल हसनले बोल्ने छ, जब जंगलको टेप रेकर्ड प्रतिध्वनित हुने छ ।
आँसुहरू
कवि : अशरफ अलि (माल्दिभ्स)
बन्द हौ, बन्द हौ अब
बेस्सरी बग तर
ए आँसुहरू बन्द हौ अब ।
खुसी देखेको छु मैले दु :खको अर्कातिर
अनि दु :खको प्रत्यक्षदर्शी हौ, खुसीको छेउनेरै ।
त्यसैले ए आँसुहरू
अब बन्द हौ
बन्द ।
समय पनि प्रत्येक पटक रूप फेर्छ ।
अनि भूमिका अनुसार परिस्थिति
त्यसैले ए आँसुहरू
बन्द हौ, अब बन्द ।
हाम्रो भिन्नतामा चिन्ता नगर
हामी एउटै पनि त होइनौं ।
तिम्रो पर्वाहले मेरा आँखा
बेस्सरी धोइसकेका छन् ।
तिमीले मेरो दुखिरहेको हृदयलाई पनि
त शान्त पारिसक्यौ ।
अझै ! अझै म भन्छु ।
मेरो विगतको उन्मुक्तता
हेरिसकेको छु ।
तिम्रा चम्किला झिल्काहरूमा ।
त्यसैले, अब बन्द हौ ।
ए आँसुहरू ! बन्द ।
प्रिय आमा, प्रिन्सी मांगालिका तिमीलाई
कवि : कौशल्या जयालाथ (श्रीलंका)
भर्खरै जलेर ध्वस्त भएको
आफ्नै झुपडीको खरानीबाट
पटक पटक उठेर
ती आमा लोक कथाकी लोखर्के आमा जस्तै
सागर सुकाउँछिन् आफ्ना सन्तानलाई
नि :शुल्क पार गर्न
त्यस्तै यी आमा जो बिनाअपराध
जेलमा बसेर पनि
महलकी रानीझैँ पूर्ण सहानुभूतिपूर्वक
निम्छरा आत्माहरूलाई
माथि उठाउँछिन् ।
त्यति ठूलो अपमान अगाडि
कसरी सक्यौ सन्तुलन गर्न
आफूलाई अटल र सुन्दर राखेर ?
कसरी फुल्यौ सुन्दर फूल झैँ
घृणाले ढाकिएको जमिनमा ?
मलाई थाह छैन कसरी बुनौँ शब्दहरू
तिमीलाई प्रशंसा गर्न ?
कृपया मलाइ माफ गर !
सायद,
तिम्रो खुट्टा चुम्न योग्य छ
यौटा फूल जुन अझै फुलेको छैन ।
(नोट : प्रिन्सी मांगालिका श्रीलंकाकी एड्स पीडित महिला हुन् । जसलाई घर जलाएर गाउँ निकाला गरिएको थियो । श्रीमान्ले आत्महत्या गरेपछि २ जना बच्चासँग जीवनभरी हजारौं एड्स पीडितलाई आजीवन सहयोग गरिन् ।)
अजिंगरको निम्तो
कवि : स्नेह सायमी (नेपाल)
खानका निम्ति अन्न
लगाउनका निम्ति लुगा
सोच्नका लागि नयाँ सोच र अवधारणा
पढ्नका लागि पुस्तक
तर्कका लागि विषय
उपाधिका लागि छात्रवृत्ति
राजनीतिका लागि प्रजातन्त्र
सबै पठाइदिएको छ
अर्थात्
उसको जिब्रोसम्म यात्रा गर्न
अजिंगरले
नि :शुल्क टिकट पठाइदिएको छ ।
मुर्दाको गवाही
कवि : रुपसिहं भण्डारी (नेपाल)
ओहो ! क्या अचम्म छ ।
कति छिटो थाह भएछ दुनियाँलाई म मरेको ।
श्रद्धाञ्जलीका भेल बाढी देख्दा सामाजिक सञ्जालमा
यस्तो लाग्यो दुनियाँ मेरो मृत्युको पर्खाइमा रहेछ ।
साँच्चै, यो प्रेम होला कि औपचारिकता
म अझै विरोधाभाषमा छु ।
एक्कासी,
मेरो घर मान्छेहरूको भिडले घेरियो
जो कहिल्यै बोलेनन्, जो मलाई
चिन्न पनि चिन्थेनन् ।
सबै आए,
तर दुर्भाग्य मैले कसैलाई मुस्काएर नमस्कार गर्न सकिनँ ।
मृत्युशय्यामा हुँदा पनि जसलाई एकपटक मात्रै हेर्न तड्पेको थेँ,
उ पनि आयो ।
म चकित त त्यतिबेला परेँ
जो जिउँदो हुँदा बाटोमा देखे पनि नदेखे झैँ गर्नेहरू
टाढाटाडाबाट मेरो अन्तिम संस्कारका लागि आए
मेरा आफ्नैहरू ।
मलाई जिउँदो हुँदा कसैले पनि एक थुँगा फूल दिएको थाह छैन
आज म फूलैफूलले ढाकिएको थिएँ ।
तर विडम्बना
म प्रतिक्रिया शून्य थिएँ ।
पूर्ण मौन ।
त्यतिबेला मैले यस्तो कल्पना गरेँ कि
केवल केही पलका निम्ति
म पुन :जीवित हुन पाएको भए
धन्यवाद भन्थेँ दुई हात जोडेर
सबै सबैलाई
एकपटक
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६