काठमाडौं । हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।
व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष तथा शाहीकालका पूर्व अर्थ राज्यमन्त्री रूप ज्याेतिलाई छाेरी सुरुचीसँगै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियाे । पौने ३ करोड रुपैयाँ बराबरको ठगी आरोपमा पक्राउ परेका बाबुछाेरीमाथि अनुसन्धान गर्नका लागि प्रहरीले समय मागेको थियाे ।
अदालतले अनु्सन्धानका लागि ३ दिनको म्याद दिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
ज्योतिको हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रालिमार्फत् धेरैजनालाई ठगी गरेको भन्दै उनीविरुद्ध मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतले गत वर्ष मंसिर २० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध ४ दिनपछि मंसिर २४ गते ज्योतिले सर्वोच्चमा निवेदन गरेका थिए । त्यसबेला सर्वोच्चबाट अन्तरिम आदेश पाएका ज्योतिको विपक्षमा अहिले सर्वोच्चले फैसला गरेपछि उनी पक्राउ परेका हुन् ।
ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए । उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा भएकाले छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६