काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको ३ दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली २०८ रनले पराजित भएको छ । एमसीसीले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ८४ रन मात्र बनायाे ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै सन्दीप लामिछानेले २५ रन जोडे। यस्तै राजु रिजालले ३१, शरद भेषावकरले १५, आरिफ सेखले १९ तथा करण केसीले १८ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पवेलियन फर्किए। नेपालका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता नै खोल्न सकेनन ।
एमसीसीले पहिलो इनिङ्समा ३ सय ६४ रन बनाएको थियो भने नेपालले पहिलो इनिङ्समा १ सय ५३ रन बनायो । एमसीसीले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ८१ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६