काठमाडौं । लोकसेवा आयोगबाट सञ्चालित अधिकृत छैठौं तहको विषयगत परीक्षा पहिलो पटक क्षेत्र–क्षेत्रबाट सञ्चालन गर्दा माग अनुसारको अपुग नतिजा सार्वजनिक भएको छ ।
महेन्द्रनगर, जुम्ला, सुर्खेत, जलेश्वर, इलाम, धनकुटा र खोटाङबाट जम्मा ४ सय ३३ जना अधिकृत माग गर्दा ३ सय १२ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । जब कि परीक्षामा १ हजार ८ सय ५६ जना सहभागी भएका थिए ।
देशका १४ वटा केन्द्रबाट गत भदौ ६ र ७ मा सञ्चालित परीक्षाको नतिजा कात्तिकको दोस्रो हप्ता प्रकाशित गरिएको हो ।
लोकसेवा आयोगका १४ वटा कार्यालयबाट सञ्चालित प्रशासन, सामान्य प्रशासन र लेखा समूहको छैठौं तहको परीक्षामध्ये ७ वटा कार्यालयबाट अपुग परीक्षार्थी अन्तर्वार्ताका लागि योग्य भएका हुन् । महेन्द्रनगर, जुम्ला, सुर्खेत, जलेश्वर, इलाम, धनकुटा र खोटाङ केन्द्रमा माग संख्याभन्दा कम उत्तीर्ण भएका हुन् ।
लोकसेया आयोका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने, ‘विषयगत परीक्षा पास गर्नका लागि उत्तीर्णांक ल्याउनै पर्छ । धेरैले ल्याउन नसकेका कारण आवश्यक माग संख्याअनुसार उत्तीर्ण नभएको हो ।’
आयोगका अनुसार इलामबाट ३६ पदका लागि १ सय ४० जनाले परीक्षा दिँदा २२ जना मात्र उत्तीर्ण भएका छन् । धनकुटाबाट १ सय ६ पदका लागि ४ सय ७१ परीक्षार्थी सहभागी थिए । खुलातर्फ मागिएको ८३ पदमा ७० जनाले मात्र पास गरे । दलित र अपांगतर्फ १÷१ सिटमा कसैले नाम निकाल्नै सकेनन् । खोटाङबाट ३१ पदका लागि ५७ जनाले परीक्षा दिएका थिए, त्यसमा जम्मा २५ मात्र अन्तर्वार्ताका लागि सिफारिस भए ।
जलेश्वर केन्द्रबाट सबै समावेशी सिटमा १ सय ५४ पद माग भएकामा खुला र महिला सिटमा पर्याप्त नाम निस्केन । खुलातर्फ १ सय २७ जना मागिएकामा ८८ र महिलातर्फ २० जना मागिएकामा ११ जनाले मात्र नाम निकालेका छन् ।
सुर्खेतबाट ६१ पदका लागि विज्ञापन भएको थियो । त्यसमा जम्मा ४५ जनाले मात्र नाम निकालेका छन् । महेन्द्रनगर केन्द्रबाट सञ्चालित परीक्षामा ७० पदका लागि २ सय ६८ जना सहभागी भएका थिए । तीमध्ये खुलातर्फ ७० सिटमा ५० जना मात्र उत्तीर्ण भएका छन् । महिलातर्फ भने ४ जना मागेकामा ६ जनाले नाम निकालेका छन् ।
जुम्लाबाट २५ सिट माग भएको परीक्षामा ६० जना सहभागी थिए । जसमध्ये ९ जना मात्र उत्तीर्ण भएका छन् । १ सिटका लागि माग भएको महिला कोटामा एक जना महिलाले पनि नाम निकाल्न सकेनन् ।
तर मागभन्दा कम उत्तीर्ण भएकाले नाम निस्केकाहरू स्वतः नियुक्तिका लागि सिफारिस हुन सक्ने बाटो खुलेको छ । दाङ, बुटवल, पोखरा, हेटौंडा, काठमाडौं र दिपायलमा भने मागभन्दा बढी नै उत्तीर्ण भएका छन् ।
आयोगले स्थानीय तहका लागि १४ वटा केन्द्रबाट परीक्षा लिएको थियो । गत वैशाखमा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा करिब ९ हजार कर्मचारी मागेको थियो । त्यसका लागि सबै पदमा करिब ५ लाख जनाको आवेदन परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६