काठमाडौं: भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।
तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ . उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैले यी चार नारायणमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६