काठमाडाैं । सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्च शिक्षा परिषद्’ गठन गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ मा उच्च शिक्षाको प्रभावकारी नियमन र व्यवस्थापनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद् गठन गर्ने उल्लेख गरिएको हो ।
शिक्षा नीतिले नेपाललाई निश्चित विषयमा विश्वस्तरको शिक्षा प्रदान गर्ने केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
शिक्षक सेवा आयोगको सिफारिसमा मात्रै शिक्षकहरुलाई स्थायी गर्ने नीतिगत व्यवस्था पनि नीतिमा समावेश गरिएको छ । मन्त्री पोखरेलले ५ वर्षभित्र सबै विद्यालय तहको शैक्षिक क्षमतालाई सुदृढ बनाउने नीतिगत व्यवस्था गरिएको बताए ।
शिक्षा नीतिमा शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति निर्माण गर्न विशेष जोड दिइएको छ । त्यसका लागि ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति : सामाजिक न्याय, रुपान्तरण र समृद्धि’ भन्ने मूल नारा शिक्षा नीतिमा तय गरिएको मन्त्री पोखरेलले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६