काठमाडौं । जिल्ला अदालत राैतहटमा कांग्रेस सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको बयान सकिएको छ । रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका आलमको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
बुधवार समय अभावका कारण रोकिएको बयान बिहीबार सकिएको हो । जिल्ला अदालत रौतहटले आलमसँग ३ दिन लगाएर बयान लिएको हो ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा थुनछेक बहस चलिरहेको जिल्ला अदालत स्राेतले जानकारी दिएकाे छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाइएको छ ।
२०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा पेस गरेका छन् । थुनछेक बहस सकिएपछि आलमलाई रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्ने छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६