काठमाडौँ । प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरूमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दिने सहमति भएको छ ।
बिहीबार उम्मेदवारी दर्ताअघि उनीहरूले नाम टुंगो लगाउने छन् । भक्तपुरमा नेमकिपाले पनि बिहीबारै टुंगो लगाउने जानकारी दिएको छ । कान्तिपुरमा खबर छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारको मनोनयनपत्र दर्ता र अन्य तयारीहरू पूरा भइसकेको बताए । आयोगले उपनिर्वाचनमा १ सय १ वटा राजनीतिक दलले भाग लिन सक्ने जनाएको छ ।
०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका दलले उपनिर्वाचनमा स्वतः भाग लिन पाउँछन् । त्यसबाहेक ०७४ को निर्वाचनपछि एकीकरण भएका र नयाँ गरी उपनिर्वाचनमा सहभागी हुन १६ दल दर्ता भएका छन् । उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ९५ तथा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ७८ दल योग्य रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिन पाउने दलको संख्या धेरै भए पनि अघिल्लो निर्वाचनको मत परिणामको तथ्यांक केलाउँदा उपनिर्वाचनमा पनि मुख्य दुई शक्ति नेकपा नेतृत्वको वाम गठबन्धन र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुरमा भने नेमकिपा पनि प्रतिस्पर्धी हुन सक्छ । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा सम्मिलित वाम गठबन्धनले चुनावी तालमेल गरेर सबैतिर उम्मेदवारी दिएका थिए । त्यसमध्येका एमाले र माओवादी केन्द्र यतिबेला एकीकृत भएर नेकपा बनेको छ । दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा बलियो शक्तिका रूपमा अन्य दल उदाइसकेको अवस्था छैन ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६