रौतहट । हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई बयानका लागि अदालत लगिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नेता आलमको बयान हुने बताइएकाे छ ।
सोमवार जिल्ला सरकारी वकिल कार्यालयले सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियाे । अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ । जन्मकैदसहितको मागदाबी गर्दै मुद्दा दायर गरिएकाे हाे ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो ।
अब अदालतमा आलमकाे बयान सकिएपछि थुनछेक बहस हुने छ । त्यसपछि अदालतले आलमलाई साधारण तारेखमा वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गर्ने छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६