काठमाडाैं । देशमा संघीय संरचना र तीन तहको सरकार बनेसँगै सिंहदरबारको सेरोफेरोमा केन्द्रित शासन अधिकार गाउँ पुग्यो भनियो। त्यही मेसोमा स्थानीय तहले जनताको चाहना र मापदण्डविपरीत जताततै डोजर चलाउँदा सुदूरपश्चिमका पहाडमा सिंह गाउँ पसेजस्तै आतंक फैलिएको स्थानीयले अनुभूत गरिरहेका छन्। सम्भाव्यता अध्ययन, बिनाइस्टिमेट र मापदण्डविपरीत जता मन लाग्यो त्यतै डोजरले पहाड चिथोर्दा कैयौं बस्ती पहिरोमा पुरिएका छन्। कैयौं विस्थापित भएका छन्। कैयौंको अकालमै मृत्यु भएको छ। वर्षात्मा पहिरो गएर राजमार्गमा क्षति पुगेको छ। पानीको मुहान सुक्दै गएका छन्। नागरिक दैनिकमा रिपाेर्ट छ ।
स्थानीय तहका जनप्रतिनिधिले आफैं डोजर किनेर विकासका नाममा आतंक मच्चाएको स्थानीयको गुनासो छ। ‘सिंहदरबार गाउँ आउँछ भन्थे, यहाँ त नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ,’ डोजरले फालेर घाइते बनाएकी बैतडीका गौरी जोशीले भनिन्। लाखौं खर्च गरेर खनिएका धेरै सडक पहिरोले भत्किएका छन्।
कात्तिक ४ गते सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई घाइते बनाएको थियो। ग्रामीण सडक खन्ने क्रममा दुई पक्षबीच विवाद हुँदा डोजरले उनलाई हुत्यायो। गम्भीर घाइते भएकी उनको भारतमा उपचार भइरहेको छ।
स्थानीय सरकारको रूपमा अधिकार सम्पन्न बनेपछि बैतडी, बझाङलगायत पहाडी जिल्लामा सबै स्थानीय तहले डोजर किनेका छन्। जनप्रतिनिधिले समेत आफन्तका नाममा स्काभेटर र डोजर किन्ने होडबाजी चलेको छ। डोजरले खनेको सडकमा गएको पहिरोले पहाडी जिल्लामा कैयांैको जीवन तथा घरबार उजाडेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६