राजविराज । सप्तरीकाे कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएका ३ जंगली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा २५ हजार बराबरको क्षति भएको चौधरीले बताए । प्रहरी र स्थानीयबासीले हात्तीलाई जंगलतर्फ लखेटेका छन् ।
शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षबाट आएका ४ हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले बताए । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो ।
हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी बर्सेनि मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६