काठमाडौं । संसद् सचिवालयकी कर्मचारी राेशनी शाहीमाथि याैन दुर्व्यवहार गरेकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दाकाे विषयमा अदालतमा जारी थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे छ ।
सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएकाे छ । तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेको अदालत स्राेतले जनाएकाे छ ।
‘सभामुखजस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेको र पछि सो ठहरेमा मागदाबी बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिन्छ,’ अदालतको आदेशमा भनिएको छ।
महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढै ७ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर भएको थियो।
महराका तर्कबाट आज वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमणकुमार श्रेष्ठ, सविता भण्डारीले बहस गरेका थिए । आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित ४ जनाले बहस गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६