काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १७औँ अनसन बस्न डडेल्धुरा पुगेका छन् । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकाे भन्दै उनी अनसन बस्न लागेका हुन् । डा. केसीले कहाँ अनसन बस्ने भन्ने निश्चित भइनसकेको बताइएकाे छ ।
डा. केसीले चिकित्सा क्षेत्रको सुधारका लागि यसअघि १६ पटक अनसन बसिसकेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्यमा देशका सबै क्षेत्रका नागरिकको समान पहँच हुनुपर्ने भन्दै उनले आवाज उठाउँदै आएका छन् ।
१६ औं अनसन इलाममा बसेका डा. केसी १७ औँ अनसन भने नेपाल चिकित्सक संघको भवन प्रदर्शनी मार्गमा बस्ने भनिएकाे थियाे । तर उनी एक्कासी डडेलधुरा पुगेका हुन् ।
२०७५ साउन १० गते सरकारले डा. केसीको १५औँ अनसन तोडाउँदा डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नभएकाले अनसन बस्न डा. केसी डडेल्धुरा नै पुगेका हुन् ।
उनका माग यस्ता छन् :
- हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
- विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
- आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।
- संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायत निर्णय तत्काल खारेज गरियोस्।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस्। प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
- संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६