बझाङ । बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत् आयोजनामा काम गर्ने ४ मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।
दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुंगल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
८ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारै जना बेहोस भएको हुनसक्ने उनले बताए । उनीहरुसँगै सुरुङभित्र गएका अन्य २ मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए । ४ जनाको अवस्था अज्ञात छ , बमले भने ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडाैंबाट हेलिकाेप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
५ वर्षदेखि निर्माणाधीन ६५ मेगावाट क्षमताको कालंगा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६