इटहरी । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।
इटहरी–१६ कान्छी चोकदेखि बडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कुल जोड्ने कालोपत्रे सडक निर्माणको शिल्यान्यास गर्दै उनले यस्तो बताएका हुन् । इटहरीको गौरवका योजनाका रुपमा सञ्चालित बहुबर्से योजनाअन्तर्गत यही आर्थिक वर्षमा कालोपत्रे भइसक्ने ११ सडकमध्ये यो एक हो । ११ सडक निर्माण भइसक्दा करिब ३० किलोमिटर सडक कालोपत्रे हुने छ ।
प्रमुख चौधरीले ५ वर्षे कार्यकालमा ५० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने योजना रहेको सुनाए । ५ वर्षभित्रमा गाउँका मुख्य सडक कालोपत्रे भइसक्ने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन, नो करप्सनको नीति अवलम्बन गरिएको बताइन् । उनले गाउँका जनतालाई उपमहानगरबासी भएको अनुभूति दिलाउन गाउँगाउँका सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना सञ्चालन गरिएको जानकारी दिइन् ।
उनले बहुवर्षीय योजना अन्तर्गत ११ वटा ग्रामीण सडक कालोपत्रे भइसकेपछि नगर बस सञ्चालन गरेर गाउँगाउँका बासिन्दामा यातायातको सहज पहुँच पुर्याउने बताइन् । आफूहरु जनप्रतिनिधि भएयता बनेका सडक गुणस्तरीय रहेको उनको दाबी छ ।
कार्यक्रमलाई इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी, १८ का वडाध्यक्ष रामकुमार चौधरी र २० का वडाध्यक्ष मणिराज श्रेष्ठले सम्बोधन गर्दै ३ वडा जोड्ने यो मूलबाटो कालोपत्रे भएपछि ग्रामीण जनताले विकासको अनुभूति गर्ने बताए ।
इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिब साढे ६ किलोमिटर सडक २०७७ मंसिर २९ गतेअगाडि नै निर्माण सम्पन्न हुने बताए । निर्माण कम्पनीका प्रतिनिधि सरोज बस्नेतले असारभित्रै निर्माण सक्ने गरी काम हुने प्रतिबद्धता जनाए । इटहरीमा चालु आर्थिक वर्षमा योसमेत ४ वटा बहुवर्षीय सडक शिलान्यास गरिसकिएको छ । अरु ७ सडक पनि चाँडै शिल्यान्यास गरिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६