काठमाडौं । संसद् सचिवालयकी कर्मचारी राेशनी शाहीमाथि याैन दुर्व्यवहार गरेकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आज साेमबार पनि थुनछेक बहस भइरहेकाे छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार बहस नसकिएपछि सोमबार फेरि बहस भइरहेकाे हाे । महरा पक्षका करिब २५ भन्दा बढी वकिलले आज बहस गर्ने बताइएकाे छ ।
महरामाथि संसद सचिवालयकी कर्मचारी शाहीलाई गत असाेज १२ गते जबरजस्ती करणी प्रयास गरेको आरोप छ । १७ असोजमा परेकाे शाहीकाे जाहेरीका आधारमा १९ असाेजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो ।
गत शुक्रबार अदालतले महरासँग बयान लिएकाे थियाे । शुक्रबार बयानमै समय सकिएपछि थुनछेक बहस आइतबार मात्रै सुरु गरिएको हो ।
सम्भवतः आजै थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिने छ । आज पनि बहस नसकिएमा भने अर्काे दिन पुनः बहस हुने छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६