काठमाडाैं । भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रबलीकरण सुरु भएको छ । बबरमहल पुरानै स्वरुपमा प्रबलीकरण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाई (भवन) ले जनाएको छ ।
गत असार २५ गते निर्माण व्यवसायीसँग प्रबलीकरणका लागि सम्झौता भई काम सुरु भएको आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले राससलाई जानकारी दिए । ८६ करोड २ लाख ५२ हजार रुपैयाँको लागतमा २ वर्षभित्र प्रबलीकरण सम्पन्न हुने छ । भवनमा भूकम्पअघिसम्म सडक विभाग र महालेखा परीक्षकको कार्यालय सञ्चालनमा थियो । महालेखापरीक्षकको कार्यालय रहेको भागमा कम क्षति भएकाले हाल पनि त्यहीँ कार्यालय सञ्चालनमा छ । भूकम्पले क्षति पु¥याएपछि विभाग भने ललितपुरको चाकुपाट सरेको छ ।
विसं १९७० मा चन्द्रशम्शेरले आफ्ना छोरा बबरशम्शेरका लागि निर्माण गरेकाले भवनको नाम बबरमहल राखिएको हो । दरबार परिसरमा फेला परेका इट्टामा ‘श्री ३ चन्द्रशम्शेर १९०३’ लेखिएको पाइएको छ । दरबार क्षेत्रले २१ रोपनी क्षेत्रफल ओगटेको छ । जग्गाको स्वामित्व सरकारका नाममा आइसकेको विभागले जनाएको छ । विसं २००७ देखि नै बबरमहलमा सडक विभागले काम गर्दै आएको थियो ।
चन्द्रशम्शेरले बकिंघम दरबारको स्वरुपमा बबरमहल निर्माण गरेको बताइन्छ । दरबारभित्रको आन्तरिक सजावट पनि बेलायती शैलीको छ । विसं १९९० को भूकम्पबाट पनि बबरमहलमा क्षति पुगेपछि १९९१ सालमा यसको जीर्णोद्वार गरिएको थियो ।
उक्त भवन सुर्की, चुना, काठ, फलामलगायत परम्परागत सामग्रीले नै प्रबलीकरण गरिने छ । प्रबलीकरणमा सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग नगर्ने गरी निर्माण व्यसायीसँग सम्झौता भएको विश्वकर्माले बताए । भवन प्रबलीकरणका लागि जिसीजिसी-आशीष-समानान्तर जेभीसँग सम्झौता भएको छ ।
यसैगरी भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पनि प्रबलीकरण भइरहेको छ । केशरमहल, बालमन्दिर, शीतलनिवास, बहादुरभवन तथा त्रिचन्द्र क्याम्पसको घण्टाघर भवन पनि प्रबलीकरणका लागि सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ । लैनचौरस्थित दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सचिवालयको सानो भवन भने प्रबलीकरण सम्पन्न भएको छ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६