काठमाडाैं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पु¥याएर अलपत्र पारी उनीहरु फरार भएका थिए । रामेछापका नविनकुमार तामाङसमेत ४ जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम ५ वर्ष कैद तथा बिगो र जरिवानासमेत हुने व्यवस्था छ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६