काठमाडाैं । दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बस सिन्धुपाल्चाेककाे सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ । नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्धार भइरहेको छ।
पछिल्लो अपडेटअनुसार ४७ जना यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ । अझै केही यात्रु बेपत्ता रहेकाे बताइएकाे छ । बसमा कति यात्रु थिए भन्ने यकिन विवरण आएकाे छैन । १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६