काठमाडौं: भारतको नयाँदिल्लीमा प्रदूषणको स्तर निकै बढेपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिएको छ। दिल्ली सरकारले सबै स्कुल ५ नोभेम्बरसम्म बन्द गर्न निर्देशन दिएको छ भने सबै स्कुलमा मास्क बाँडिएको छ।
दीपावलीपछि दिल्लीको हावा निकै खराब भएको थियो । मानिसहरुलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको थियो । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढिरहेको छ । दिल्लीको हावामा प्रदूषणका खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मानक भन्दा २० गुणा अधिक पुगेको छ । हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई मध्य नजर राख्दै त्यहाँको सुप्रीम कोर्टले दिल्लीका साथै छिमेकी राज्यमा पनि केही कुराहरुमा प्रतिबन्ध लगाउने आदेश दिएको छ ।
यस्तै, सोमबारदेखि दिल्लीमा जोर–बिजोर प्रणालीमा सवारी साधन चल्नेछन् । जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरमा गाडी चल्ने र यो नियम १५ नोभेम्बरसम्म लागू हुने जनाइएको छ। यसले पनि प्रदूषणको स्तरमा केही सुधार आउने अपेक्षा दिल्ली सरकारले लिएको छ।
दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले पनि प्रदूषणका कारण दिल्ली ‘ग्यास च्याम्बर’ मा परिणत भएको बताएका छन्। उनले दिल्लीबासीका लागि मास्क बाँड्न सुरु गरिएको र एक साताभित्रै ५० लाख मास्क बाँडिने बताएका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६