कैलाली । कैलालीको बौनियाँमा बिहीबार साँझ बसले ठक्कर दिएका दुवै जना बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइतेमध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई महेन्द्रनगरबाट काठमाडाैं गइरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो ।
यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाईते भएका बालकद्वयलाई बर्दगोरीया अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो । उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतक बालकहरूका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन । उनीहरुले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव बिष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६