नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति करिब ९ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजङ्ग साहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल १ थान र २ राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा साहसहित दिनेश शाही, राघव साह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति साह निर्माण व्यवसायीसमेत हुन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराए । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६