‘तत्कालीन आईजीपी, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका तत्कालीन डीआईजी, घटनास्थलनजिकैको इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज र अनुसन्धान अधिकृत तथा उक्त घटनामा मुद्दा नचलाउने निर्णय गर्ने रौतहटका तत्कालीन सरकारी वकिलसँग लिखित बयान लिइसकेका छौं,’ उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘अनुसन्धान र सबुत प्रमाणले अपराध भएकै हो भन्नेमा अब दुई मत छैन, अपराधमा कसको के भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
२ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले १२ वर्षअघिको उक्त अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । ‘घटनाको अनुसन्धानलाई वैज्ञानिक र प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी राखेका छैनौं,’ कार्कीले कान्तिपुरसँग भने, ‘अपराधमा को–को संलग्न थिए, जिम्मेवारी लिएर को–को बसेका थिए, उनीहरूबाट त्यसबेला के–कस्तो भूमिका निर्वाह भएको थियो भन्ने साक्षी प्रमाण जुटाउने क्रममा छौं ।’ अपराधमा संलग्न व्यक्ति जुनसुकै तहमा बसेको भए पनि अनुसन्धान दायरामा ल्याएर रायसहितको प्रतिवेदन तयार पारिने उनले स्पष्ट पारे ।
१२ वर्षपछि खुले महत्त्वपूर्ण तीन तथ्य बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको अपराधसँग सम्बन्धित तीन तथ्य खुलेका छन् । बम विस्फोटका मुख्य योजनाकार कांग्रेस सांसद आलमले घटना नै नभएको दाबी गरे पनि प्रहरीले गरेको अनुसन्धानक्रममा महत्त्वपूर्ण तथ्य फेला परेको हो ।
असोज २६ गते पक्राउ परेका आलमले तेस्रोपटकको म्याद थपमा समेत बम विस्फोट नभएको जिकिर गरेका छन् । तर ०६४ चैत २७ गते घटनास्थलबाट भागेर बाँचेका पीडितको फरेन्सिक जाँचमा उनको शरीरमा लागेको चोट बम विस्फोटबाट भएको उल्लेख छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक जाँच प्रतिवेदनमा घाइते सफी अहमदका शरीरमा लागेका घाउ/चोट बम विस्फोटबाट भएको पुष्टि भएको छ । उक्त प्रतिवेदनलाई प्रहरीले आरोपितविरुद्ध फेला परेको महत्त्वपूर्ण र कसुर पुष्टि हुने प्रमाणका रूपमा लिएको एक प्रहरी अधिकृतले बताए ।
त्यसैगरी पछिल्लो अनुसन्धानअनुसार दुई जनाको घटनास्थल (रौतहटको यमुनामाई गाउँपालिका–४ राजपुर फरदवा) मा मृत्यु भएको व्यहोरा समेटेर वडा कार्यालयले ‘मृत्यु दर्ता प्रमाणपत्र’ जारी गरेको छ । गाउँपालिका कार्यालयले बम विस्फोट भएकै दिन २१ वर्षीय मोहम्मद ओसी अख्तर र २२ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप सिंहको मृत्यु भएको प्रमाणित गरेको छ ।
कान्तिपुरलाई प्राप्त दुवै जनाको मृत्युदर्ता प्रमाणपत्रअनुसार पिन्टुको श्रीनारायणसिंह राजपुतका तर्फबाट परेको निवेदनका आधारमा ०७६ भदौ ८ गते वडा कार्यालयले ‘०६४ चैत २७ गते राजपुरमा मृत्यु भएको’ व्यहोरा उल्लेख गरेर मृत्युदर्ता प्रमाणपत्र जारी गरेको छ । यस्तै अमना खातुनका तर्फबाट परेको निवेदनअनुसार ०७४ पुस १६ गते ओसी अख्तरको पनि ०६४ चैत २७ गते नै मृत्यु भएको व्यहोरासहित वडा कार्यालयले प्रमाणित गरेको छ । ओसीकी आमा रुक्साना खातुनको शंकास्पद मृत्यु भएपछि मृतककी पत्नी अमनाले मृत्यु दर्ता प्रमाणपत्रका लागि स्थानीय तहमा निवेदन दिएकी थिइन् ।
‘बम विस्फोटका घाइतेलाई इँटाभट्टामा मारेको अभियोगमा भइरहेको पछिल्लो अनुसन्धानमा घटनाका महत्त्वपूर्ण तथ्यहरू संकलन गरेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘घटनास्थलबाट भागेर बाँचेका मानिसको शरीरमा लागेका घाउ/चोटको फरेन्सिक जाँच, दुई जना मृतकको घटना भएकै राति मृत्यु भएको प्रमाणित कागजपत्र र घटनास्थलनजिकै रहेको राजपुर इलाका प्रहरीका तत्कालीन प्रमुखसँगको बयानले घटना भएको पुष्टि हुन्छ ।’
प्रहरीले १२ वर्षअघिको घटनासम्बन्धी अनुसन्धानमा सघाउन नेपाल टेलिकमलाई पत्राचार नै गरेको छ । घटना भएका बेला प्रमाण लोप गर्न आरोपितबाट भएका प्रयासको अनुसन्धान गर्ने क्रममा प्रहरीले हिरासतमा रहेका सांसद आलम र उनका सहयोगीको ‘कल डाटा रेकर्ड’ (सीडीआर) समेत निकालिदिन टेलिकमलाई आग्रह गरेको छ ।
रौतहट प्रहरी प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानक्रममा एकपछि अर्को नयाँ तथ्य र प्रमाण फेला परिरहेको बताए । ‘धेरै पछि अनुसन्धान गर्दा केही कठिनाइ भए पनि अपराधसँग जोडिएका तथ्य र प्रमाण फेला परेका छन्,’ खत्रीले कान्तिपुरसँग भने, ‘बम विस्फोटका घाइतेलाई इँटाभट्टामा राखेर मारिएको अपराधसम्बन्धी अनुसन्धान वैज्ञानिक र तथ्यमा आधारित देखिएका छन् ।’