काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा बढीसम्ममा बिरामीलाई बिक्री गरी व्यापक ठगी गरेको पाइएको हो । बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिविपरीत सो केन्द्रले अत्यधिक मूल्य लिएर खुलेआम ठगी गर्दै आएको हो । राजधानी दैनिकले लेखेकाे छ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदनले नै यस्तो तथ्य औंल्याएको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँ पर्ने पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्बलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा सोही कम्पनीको भल्बलाई १ लाख १० हजार रुपैयाँ लिइँदै आइएको छ । यसरी हेर्दा भल्ब किन्नका लागि केन्द्रले एक लाख ८३ हजार रुपैयाँ बढी लिएको देखिएको छ ।
सप्लायर्स तथा फार्मेसीहरूको आपसी मिलोमतोमा मनोमानी ढंगले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य लिई सप्लाई गरेको देखिएको छ । फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ९ मा ‘औषधि र औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने’ उल्लेख छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्बमा खरिद मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकी अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रले फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ९ को व्यवस्थाविपरीत भएको भन्दै केन्द्रलाई निर्देशिका संशोधन गरी सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ ।
शहीद गंगालाल राष्ट्रिय केन्द्रले मुटुको भल्बको बिक्री मूल्य निर्धारण गर्दा केन्द्रकै निर्देशिकाबमोजिम एमआरपी उल्लेख भएकोमा एमआरपी ५ प्रतिशत कम गरी र उल्लेख नभएकोमा १६ प्रतिशत नाफा राखि बिक्री मूल्य निर्धारण गरेको देखिएको छ ।
बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने औषधिजन्य उपकरणको गुणस्तर तथा मूल्य समायोजन नहुँदा बिरामी मर्कामा परेका छन् । मुटुमा ट्रान्सप्लान्ट गरिने भल्बहरू मेडिकल र बायोलोजिकल गरी दुई प्रकारको हुने गरेको र मुटुको भल्बलगायतका औषधिजन्य उपकरणको आधिकारिक बिक्री मूल्य निर्धारण गर्ने, गुणस्तर मापन गर्ने तथा नियमन गर्ने कानुनी तथा संस्थागत व्यवस्था प्रभावकारी नरहेको देखिएको छ ।
औषधिजन्य उपकरणको गुणस्तर तथा मूल्यको अनुगमन तथा नियमन गर्ने संस्थागत व्यवस्था प्रभावकारी नदेखिँदा सप्लायर्स तथा फार्मेसीले मिलेमतोमा मनोमानी तरिकाले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य राखी सप्लाई गर्ने गरेको देखिएको छ । सतर्कता केन्द्रले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यता रहने भन्दै विद्यमान संस्थागत व्यवस्थामा आवश्यक सुधार गरी प्रभावकारी तुल्याउन सरकारलाई सुझाव दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६