काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यउपचारका क्रममा दुई दिनमा दुईपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ। उनी बिहीबारै अस्पतालबाट डिस्चार्ज भएका छन्।
उपचारमा संलग्न ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ। ‘उहाँको स्वास्थ्य परीक्षण र उपचारका क्रममा हेमोडायलासिस गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ ।
अस्पतालका तर्फबाट बिहीबार पत्रकार सम्मेलन गरी मेडिकल डाइरेक्टर पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित प्रक्रिया भएको बताए। ‘उहाँको मिर्गौला प्रत्यरोपण गरिएको कुरा सबैलाई थाहा छ। त्यसकारण डायलासिस पनि नियमित चेकजाँचभित्र पर्छ ’, पाण्डेले भने, ‘उहाँका पनि निजी कुरा हुन्छन्। बिरामीको, परिवारको अनुमति लिएर मात्रै कतिपय कुरा सार्वजनिक गर्न मिल्छ। कन्डिसन पूर्णतया राम्रो छ। रगत परीक्षण वा अन्य जाँचमा केके कुरा आयो भन्ने सबै सार्वजनिक गर्नु राम्रो होइन। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असामान्य भएको भए हामी त्यही जानकारी दिन्थ्यौं। अहिले राम्रो छ। आजैबाट काममा फर्कन सक्ने अवस्था छ।’ उनले आफूहरुबाट गलत सूचना नगएको पनि दाबी गरे। ‘विश्वास गर्नुस्, हामीले गलत सूचना दिएका छैनौं। उहाँलाई आइसियूको डायलासिस कक्षमा राखेर उपचार गरिएको हो,’ पाण्डेले भने। डायलासिस गर्नुपर्ने/नपर्ने प्रधानमन्त्रीकी निजी चिकित्सक नेतृत्वको टिमले निर्णय गर्ने डा. पाण्डेले बताए।
बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्रीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। बिहानै उच्च ज्वरो आएपछि उनलाई अस्पताल लगिएको थियो। नियमित चेकजाँचका लागि अस्पताल लगिएको भनिए पनि बुधबार पहिलो डायलासिस गरिएको थियो। पहिलो डायलासिस राम्रो नभएपछि उनलाई बिहीबार दोस्रोपटक डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ।
बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेकपाका नेता भीम रावलले डायलासिस भइरहेका कारण भेट्न पाएका थिएनन्। उनले नै अस्पताल परिसरमा रहेका सञ्चारकर्मीलाई प्रधानमन्त्रीको डायलासिस भइरहेको जानकारी गराएका थिए। त्यसअघि भेट्न पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीलाई भेटेर फर्के पनि डायलासिस भएनभएको बारे केही बताएका थिएनन्। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए। पोखरेलपछि रावल अस्पताल पुगेका थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भेट्न पाएनन्। उनी उपचारमा संलग्न अस्पतालका चिकित्सकलाई भेटेर फर्केका थिए।
श्रेष्ठपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने करिब ४० मिनेट भेटघाट गरेर फर्केका थिए। मलिन अनुहार लिएर गएका दाहाल खुसी हुँदै फर्केका थिए। दाहालले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीलाई दुईपटक डायलासिस भएको पुष्टि गरेका थिए।
उनीसँगै प्रधानमन्त्रीलाई भेट्न पुगेका पार्टीका महासचिव विष्णु पौडेल भने लामो समयसम्म अस्पतालमै रहेका थिए। साँझपख पार्टीका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि भेट्न पुगेका थिए। प्रधानमन्त्री ओलीको सचिवालयले सामान्य चेकजाँच भनिरहेका बेला बुधबार साँझ अस्पतालमै राखेर उपचार गर्नुपर्ने भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको थियो।
अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिन दिनभर नै नेता कार्यकर्ताको भीडभाड थियो। अस्पतालमा नेता कार्यकर्ताको भीड लागेपछि ओलीकै इच्छामा बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो। प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेताहरुले उहाँको स्वास्थ्य अवस्था अलि गम्भीर नै रहेको बताए पनि चिकित्सकले भने सामान्य रहेको दाबी गर्दै आएका छन्।
करिब १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता नियमित औषधि सेवन गर्दै आएका उनको भदौ ५ देखि २० गतेसम्म सिंगापुरमा उपचार गरिएको थियो। त्यहाँ प्लाज्माफेरेसिस विधिबाट उपचार गरिएको थियो। ग्रान्डी अस्पताल स्रोतका अनुसार उनको मिर्गौलामा थप समस्या आएकाले अहिले डायलासिस गर्नुपर्ने परेको हो।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीकी निजी चिकित्सक शाह, चिकित्सक चक्रराज पाण्डे, अरुण सायमीलगायतका विशेषज्ञले ओलीको मिर्गौला प्रत्यारोपण गर्ने कि डायलासिस नै गर्ने भन्ने विषयमा छलफलसमेत गरेका थिए। पुनःप्रत्यारोपण प्रक्रिया जटिल भएकाले कुनै निर्णय नभएको स्रोतले जनाएको छ। चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गाैलाले पहिलेको जस्तै काम गरेन भने सातामा दुईपटक डायलासिस गर्नुपर्ने बताइसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६