कपिलवस्तु । लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि कपिलवस्तुको कृष्णनगरमा चलेकाे गोली लागेर एक स्थानीयको मृत्यु भएपछि कर्फ्यु लगाइएको छ ।
मूर्ति बिसर्जन गर्नका लागि रुटको विषयलाई स्थानीय बासिन्दाबीच विवाद भएको थियो। बुधबार सुरु भएको विवादले झडपको रुप लिएको हो ।
प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो । मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो ।
कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो। प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुदाँ प्रशासनले कर्फ्यू लगाएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६