कपिलबस्तु: लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लागेको छ। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।
प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो । मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो ।
कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो। प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुदाँ प्रशासनले कर्फ्यू लगाएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६