काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलाइसिस गरिने भएको छ । बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस सुरु गरिएको र आज पनि डायलाइसिस गरिने अस्पताल स्रोतले जनाएको छ ।
बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएकाे अस्पताल स्राेतले जनाकारी दिएकाे छ। डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको थियो ।
प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन्। शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ। दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ।
स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलाइसिस मार्फत् रगतको विकार सफा गरिन्छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६