काठमाडौं: प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्ने १ सय २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, गुल्मीको गुल्मी, बर्दिया, चितवन, दाङलगायतका जिल्लाबाट जुवाडेहरु पक्राउ परेका हुन् ।
सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट ८ जना सोमबार विहान पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
भक्तपुरकै चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ६ जनालाई पक्राउ परेका छन् । उनीहरुको साथबाट ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक तास बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गुल्मीको गुल्मीदरवार गाउँपालिका-७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष टण्डनलगायत १७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
वर्दियाको राजापुर नगरपालिका-१ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जना ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक ताससहित पक्राउ परेका छन् ।
वर्दियाकै बाँसगढी नगरपालिका-९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने प्रताप थारु लगायत ९ जनालाई नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चितवनको खैरहनी नगरपालिका-१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका-१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ बस्ने ४२ वर्षीय कुलबहादुर भुजेललगायत १२ जनालाई ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् ।
दाङ, लमही नगरपालिका-५ लमहीबजार बस्ने ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्नप्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडासहित पक्राउ परेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६