अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सुरुङभित्र अलबगदादीले आफूले लगाएको एउटा सुसाइड भेस्ट विस्फोट गराएको बताए।
आईएसका नेता अलबग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
इराक र सिरिया क्षेत्रमा क्यालिफेट अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए। इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो। विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ। इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको सुरूतिर क्यालिफेट परास्त भएको घोषणा गरेको थियो।
फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अल-बग्दादी मारिनु आईएसका लागि एउटा झट्का भए पनि त्यो एउटा कदम मात्रै भएको बताए। उनले सो समूहको निर्णायक पराजयका लागि फ्रान्सले सहकार्य जारी राख्ने उल्लेख गरेका छन्। ब्रिटेनले यो एउटा महत्त्वपूर्ण क्षण भए पनि आईएसको अन्त्य नभएको प्रतिक्रिया दिएको छ।
अल-बग्दादी मारिएपछि ट्रम्पले भने, "अल-बग्दादीलाई समात्नु अथवा मार्नु मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो। निकै कठिनाइ र मृत्यु निम्त्याएका एक क्रूर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन्।"
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६