काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो तिहार । यमपञ्चक अर्थात् तिहारको तेस्रो पर्व आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
तिहार पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारलाई दीपावलीको रुपमा यस पर्वलाई धूमधामसाथ मनाउने चलन छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने साथै दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागेकी कथन छ ।
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले प्रगाढ बनाउने गर्छ । तिहारको सांस्कृतिक पक्ष पनि छ । जब कृषक आफ्नो खेतमा सुनौलो फल उमारेर अन्न घरमा ल्याउने समय जब हुन्छ तब उसको खुसी एवं उमंगको सीमा हुँदैन ।
यस खुसीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दसैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भनेर कामना गर्ने चलन छ ।
हेराैं केही तस्बिरमा दीपावलीकाे रमझमः
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६