फौजीलाई कुन हो दसैँ कुन हो चाड तिहार...
सशस्त्र प्रहरीद्वारा तयार गरिएको र जगदीश समालले गाएको यो गीत जति मर्मस्पर्शी छ, आज पनि फौजी जीवन बिताइरहेकाहरूको अवस्था र पीडा उस्तै छ ।
हिन्दूहरूको दोस्रो महान पर्व तिहार । सहरका चोक–चोकहरूमा अनि गाउँका टोल–टोलमा झिलिमिली छ । देउसीभैलोको रौनक उत्तिकै । सहरमा बस्नेहरू धमाधम गाउँ फर्किरहेका छन् । तिहारको झिलिमिली सँगसँगै सबैको मनमा छुट्टै आनन्द छाउनुका साथै हर्षोल्लास बढिरहेको छ ।
तिहारलाई विशेष गरी माइती चेलीको सम्बन्धलाई नजिक र प्रगाढ बनाउने चाड अर्थात् अवसरको रुपमा मनाउने गरिन्छ । यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको लामो आयुको कामना गर्दै गलामा माला लगाएर आर्शीवाद दिनुका साथै शत्रु नास होस् भनेर ओखर फुटाउने चलन छ ।
यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार प्रदान गरेर माया साट्दै आर्शीवाद दिने गर्दछन् । त्यसैले हरेक तिहारमा चेली (दिदीबहिनी) आफ्ना माइती (ण्दाजुभाइ) लाई फूलमाला लगाइदिन पर्खने गर्दछन् । कामको सिलसिलामा घरबाट टाढा रहेकाहरू पनि तिहारको अवसरमा छुट्टी मिलाएर आफ्नो गाउँघर फर्कने गर्दछन् ।
तर, सबैलाई यस्तो अवसर कहाँ मिल्छ र !
लमजुङका हिम्मत गुरुङले दसैँ र तिहार नमनाएको ८ वर्ष भयो । सन् २०११ मा सिंगापुर पुलिसमा भर्ती भएका उनी २ पटक मात्र नेपाल फर्कने मौका मिलेको बताउँछन् । आफू भर्ती भएपछिका हरेक वर्षको दसैँ र तिहार पल्टनमा ड्युटी गरेर बिताएका छन् उनले । उनी भन्छन्, ‘हरेक समय स्ट्यान्डबाई बस्नुपर्छ, २४ घण्टा ड्युटी हुन्छ ।’
सानैदेखि लाहुरे बन्ने उनको सपना त पूरा भयो । तर, कतिपय चाहनाहरू अधुरो नै रहे । दसैँ तिहार आफूलाई साह्रै मन पर्ने चाड भएको उनी सुनाउँछन् । तर अहिले भने सानो हुँदा चाड मनाएका ती दिन सम्झनुबाहेक अरू विकल्प छैन उनीसँग ।
दसैँमा नयाँ लुगा लगाएर मामाघर गएको, दक्षिणा कसको धेरै भयो भनेर गनेको दिनलाई उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘उमेर सँगसँगै ती रमाइला दिनहरू गए, अहिले त काँधमा जिम्मेवारी मात्र छ ।’
जब जिम्मेवारी बढ्दै जान्छ, रहरहरू त्यतिकै हराएर जाने उनको भनाइ छ । ‘मलाई आफ्नो परिवारको मात्र होइन, सिंगो राष्ट्रको एक किसिमको जिम्मेवारी छ, उनी भन्छन्, ‘त्यही भएर चाडबाड मनाउन नपाउँदा दुःख भन्दा पनि आफ्नो देशको नाम सधैँ उच्च राख्न सफल भएकोमा खुसी लाग्छ ।’
सयपत्री, मखमली र गोदावरी फूलले सबैको घरको आँगन ढकमक्क भएको कल्पना गर्दै ड्युटीमा समय बिताउँदैछन् हिम्मत । पहिले गाउँमा हुँदा साथीभाइसँग खेलेको देउसीभैलो सम्झँदा फेरि पनि गाउँघर फर्केर आउन मन लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘साथीभाइसँग देउसीभैलो नखेलेको पनि धेरै वर्ष भइसक्यो । अब, त्यस्तो समय फेरि आउँछ भनेर आशा गर्नु भनेको पश्चिमबाट घाम उदाउँछ भन्नु जस्तै हो ।’
तिहारको समयमा विशेष गरी आफ्ना चेलीलाई सम्झन्छन् उनी । आफ्ना दिदी र बहिनीले लगाइदिएको सप्तरंगी टीका, गलामा सयपत्री र मखमली फूलको मालाको साह्रै झल्को आउने उनी बताउँछन् ।
उनी भन्छन्, ‘गाउँमा भएका साथीहरूले माला लगाएर फेसबुकमा हालेको देखिन्छ । भाइटीकाको दिन सम्झँदा न्यास्रो लागेर आउँछ । हरेक वर्षको दसैँ र तिहारमा निधार खाली हुन्छ ।’
दसैँमा बुबाआमाको र तिहारमा दिदिबहिनीहरूको आर्शीवाद विशेष हुने उनी सुनाउँछन् । चेलीको हातबाट टीका लगाउन नपाएको धेरै वर्ष भए पनि कुनै वर्षको तिहारमा घर फर्केर आउने र तिहारमा रमाइलो गर्ने उनको आशा छ । उनी भन्छन्, ‘लाहुरेलाई के दसैँ के तिहार । ड्युटीमा नै बित्छ हरेक समय । तर नेपालीलाई वीर गोर्खालीको संज्ञा दिइएको छ, यसमै गर्व लाग्छ । हामी आफ्ना लागि कहिल्यै बाँच्दैनौँ, देशका लागि सधैँ बाँचिरहेका छौँ ।’
चाड मनाउन नपाउने हिम्मत एक्ला व्यक्ति भने होइनन् । उनी जस्तै हजारौं नेपाली युवाले चाडबाडलाई सम्झनामा सीमित राख्दै आफ्नो कर्तव्य पालनामा खटिनुपरेको छ । विदेशका मात्रै होइन, नेपालमै रहेका फौजीहरूलाई पनि चाडपर्व नभनी ड्युटीमा खट्नुपर्ने बाध्यता छ ।
उदयपुरका सीपक चाम्लिङ नेपाली सेनाका सिपाही हुन् । अहिले उनी दाङ लमही नगरपालिका ५ अर्जुनखोला भन्ने ठाउँमा कार्यरत छन् । उनले पनि दसैँ तिहार नमनाएको करिब १० वर्ष भएको बताउँछन् । उनी पनि पहिलाको दसैँ र तिहारलाई सम्झनुसिवाय अरु विकल्प नभएको बताउँछन् । उनी भन्छन्, ‘साह्रै गाह्रो छ, हामी फौजीहरूलाई चाडबाड नआएको नै जाती ।’
१० वर्षअघिको तिहारमा साथीभाइसँग मादल बजाउँदै देउसिरे गीत गाएर रात छर्लंगै कटाएको उनको मन मस्तिष्कमा अझै ताजा छ । चेलीहरूले निधारमा लगाइदिएको टीका, गलाभरिका माला, ती दिन सम्झँदा अहिले पनि साह्रै रमाइलो लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘तिहार त वर्षैपिच्छे आउँछ, तर ती रमाइला दिन फेरि कहिल्यै फर्केर आएनन् ।’
देशको सुरक्षाका लागि हरेक समय तयारी अवस्थामा रहनुपर्ने फौजीहरूको जिम्मेवारी हो भने बाध्यता पनि । पल्टनमा रहँदा अनुशासनमा बसेर काम गर्न सक्नुपर्ने उनको भनाइ छ । गोर्खाली हुनुमा गर्व गर्दै देशको सुरक्षाका लागि आफूहरू हरेक समय हाजिर हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हामीलाई रमाइलो, हाँसखेल गर्नका लागि निश्चित समय र ठाउँ तोकिएको हुन्छ । बस्, त्यही स्थानमा सबै टिम एकसाथ रहनुपर्ने हुन्छ ।’
पहिले आफ्नो गाउँमा हर्षोल्लासका साथ चाडबाड मनाएको सम्झँदै अहिलेको तिहारलाई कटाउनुपर्ने बाध्यता भएको बताउँछन् । हरेक समय ड्युटीमा समय बिताउनुपर्ने बताउँदै हरेक वर्ष निधार खाली रहेकोमा दुःख लागेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘कर्म नै सबैभन्दा ठूलो कुरा रहेछ । जीवनमा कर्म नगरे खुसी पनि प्राप्ति नहुने रहेछ । आफ्नो साथमा बन्दुक र गोलीहरू मात्र छन् । हामी फौजीहरूको प्यारो साथी नै बन्दुक र गोली हो ।’
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६