काठमाडाैं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको भन्ने विश्वास छ ।
नरक चतुर्दशी स्नान, दीपदान
आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यसवर्ष कात्तिक ८ गते शुक्रबार यमपञ्चक अर्थात् तिहार सुरु भएको हो ।
तिथिको घटबढकै कारण आज बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान चतुर्दशी भएका दिन कुकुर तिहार एवं नरक चतुर्दशी मनाउनुपर्छ । यसैगरी सायंकालमा औँसी तिथि भएका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मत छ ।
यसैगरी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती पनि आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ ।
तस्बिरः इला काेइरालाकाे फेसबुक वालबाट
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६